आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेको घोषणापत्र तयार गर्नका लागि पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले संयुक्त रुपमा तयार गरेको अवधारणा तथा सुझाव पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई आज बुझाएको छ । पार्टीले आयोजना गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा पार्टी सचिव स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कमरेड योगेश र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा.झलक गौतम तथा महासचिव डा.सन्तोष पौडेलले पार्टी अध्यक्षलाई सो अवधारणा तथा सुझाव संयुक्त रुपमा बुझाएको हो । यस अघि भाद्र ३ गते नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले स्वास्थ्य क्षेत्रमा विभिन्न बिधाका विज्ञहरुसङ्ग अन्तरक्रिया गरि आवश्यक सुझाव संकलन गरेको थियो ।